जनकपुरधाम रेल्वे सेवा व्यवस्थित र यात्रुमैत्री बनाउन माग, नेपाल रेल्वे कम्पनीलाई बुझाइयो मागपत्र

NEWS DESK
२०८३ कार्तिक १९, बिहिवार ०८:४५ बजे

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ।

अभियानका अध्यक्ष जितेन्द्र महतोको नेतृत्वमा गएको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन माग गरेको हो।

अभियानले रेल यात्रुको सहज आवागमन सुनिश्चित गर्न, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ गर्न तथा व्यवस्थित प्रतीक्षालय, शौचालय र खानेपानीको उचित व्यवस्था मिलाउन आग्रह गरेको छ।

त्यसैगरी, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन तथा खाली जग्गालाई पार्क र बगैँचाका रूपमा विकास गर्न माग गरिएको छ। रेल्वे परिसरमा हाट बजारको व्यवस्थित सञ्चालन तथा सडक र छेकबारको उचित व्यवस्थापन गर्न पनि अभियानले ध्यानाकर्षण गराएको छ।

रेल्वे क्रसिङमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा मालवाहक ढुवानी सेवा सञ्चालन गर्नसमेत मागपत्रमार्फत आग्रह गरिएको छ।

जनकपुरधाम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल भएकाले रेल सेवालाई व्यवस्थित र सुविधासम्पन्न बनाउन सके यात्रु तथा पर्यटक दुवैलाई सहज हुने अभियानको अपेक्षा छ।

उल्लेखनीय छ, स्तरोन्नतिपछि जनकपुरधाम रेल्वे सेवा २०७८ साल चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो। रेल सेवाको दिगो व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग अभियानले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्