रौतहटमा मोटरसाइकलको गोप्य ट्यांकीबाट ३० लाख बरामद, पसलबाट थप १४ लाखसहित दुई जना पक्राउ

NEWS DESK
२०८३ कार्तिक १९, बिहिवार ०८:३० बजे

रौतहट । रौतहट प्रहरीले भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइएको ३० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६५० रुपैयाँ बरामद भएपछि पसल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बुधबार दिउँसो करिब साढे ३ बजे इशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपाल प्रवेश गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको इन्धन ट्यांकीमुनि गोप्य रूपमा बनाइएको फल्स बटनभित्र लुकाएर राखिएको ३० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उक्त रकमसहित मोटरसाइकल चालक भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला, फुलवरिया–१३ निवासी ३० वर्षीय सनीकुमार जयसवाल पक्राउ परेका हुन्।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा जयसवालले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको बयान दिएका थिए।

सोही बयानका आधारमा प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले व्यापारिक प्रतिष्ठानमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६५० रुपैयाँ बरामद भएको रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

प्रहरीले दुवै जनालाई कुल ४४ लाख ६४ हजार ६५० रुपैयाँसहित नियन्त्रणमा लिएर रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे अनुसन्धान अघि बढाएको छ।

सीमावर्ती क्षेत्रमा मोटरसाइकलमा गोप्य संरचना बनाएर ठूलो परिमाणमा नगद ओसारपसार गरिएको घटनाले अवैध आर्थिक कारोबारको आशंका बढाएको छ। बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित भए–नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्