जीतपुरसिमरा उपमहानगरपालिकामा भूमि प्रशासन सेवा सुरु, अब नगरभित्रै जग्गासम्बन्धी काम हुने

NEWS DESK
२०८३ कार्तिक १९, बिहिवार ०८:२६ बजे

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरास्थित भूमि व्यवस्थापन शाखाबाट बुधबारदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको छ।

उपमहानगरपालिकाले पहिलो चरणमा जग्गाको स्वामित्व हस्तान्तरणसम्बन्धी लिखत पारित तथा जग्गाधनी प्रमाणपुर्जासम्बन्धी प्रशासनिक सेवा सुरु गरेको जनाएको छ।

त्यसैगरी, नापीअन्तर्गत फिल्ड रेखाङ्कन, स्थलगत निरीक्षण, नक्सा प्रिन्ट तथा राजीनामासम्बन्धी नक्सा अद्यावधिक सेवा पनि शाखाबाट उपलब्ध हुने जनाइएको छ।

उपमहानगरपालिकाका अनुसार जग्गा कित्ताकाट गर्दा भू–उपयोग नियमावली, २०७९ बमोजिम कृषि क्षेत्रमा कम्तीमा ६७५ वर्गमिटर तथा आवासीय र व्यावसायिक क्षेत्रमा कम्तीमा १३० वर्गमिटर जग्गा हुनुपर्ने व्यवस्था लागू गरिएको छ।

नगरपालिकाभित्रै भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएपछि जग्गासम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने सेवाग्राहीको बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय नागरिकले समय र खर्च बचत गर्दै सहज रूपमा सेवा लिन सक्ने विश्वास उपमहानगरपालिकाले लिएको छ।

उपमहानगरपालिकाले जग्गासम्बन्धी सेवा आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीलाई सिमरास्थित भूमि व्यवस्थापन शाखामा सम्पर्क गरी सेवा लिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्