काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा खेल हुँदैछन्। लिग चरणका यी खेलले अंक तालिकाको समीकरणमा थप फेरबदल ल्याउने अपेक्षा गरिएको छ।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। उक्त खेलमा साविक विजेता तथा अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लाइन्स र चौथो स्थानको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
लुम्बिनी लाइन्सले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमध्ये २ खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ। कुल ५ अंकसहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
यता, जनकपुर बोल्ट्सले ४ खेल खेल्दा २ मा जित र २ मा हार बेहोरेको छ। बलियो लयमा रहेको लुम्बिनीलाई चुनौती दिँदै अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्य जनकपुरको हुनेछ।
त्यसैगरी, आजको दोस्रो खेल अपराह्न ४ः३० बजे विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच हुनेछ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। यस्तै, सातौँ स्थानमा रहेको काठमान्डु गोर्खाजले २ खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको छ।
अंक तालिकामा आफ्नो स्थान बलियो बनाउन दुवै टोली आजको खेल जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।
आज हुने दुवै खेलले प्रतियोगिताको आगामी समीकरणलाई प्रभाव पार्ने भएकाले क्रिकेटप्रेमीको ध्यान कीर्तिपुर मैदानमा केन्द्रित हुने देखिएको छ।


तपाईको प्रतिक्रिया !