काठमाडौं, १७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै विशाल सुसलिङले ३० बलमा ४३ तथा जेम्स निसमले १५ बलमा २७ रनको योगदान दिए।
जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै लोकेश बमले ४० बलमा ५० रन बनाए भने शुभम रञ्जाने ५ बलमा ७ रन जोड्दै अविजित रहे।
जनकपुरका बलर अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।
यस जितसँगै चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित ४ अंक जोडेको छ। समान खेल खेलेको जनकपुरको पनि दुई जित र दुई हारसहित ४ अंक रहेको छ।
दुई टोलीबीचको प्रतिस्पर्धात्मक खेलमा अन्तिमसम्म रोमाञ्चकता कायम रहँदा विराटनगरले झिनो अन्तरको जित आफ्नो पक्षमा पारेको हो।


तपाईको प्रतिक्रिया !