काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै दोस्रो जित हात पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा पोखराले लक्ष्य पूरा गर्न नसक्दा प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्नुपरेको छ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। विपिन आचार्यले २० रन जोड्दा विपिन खत्री १७ रनमा अविजित रहे। किरण ठगुन्नाले १५ रन बनाए। शकिब अल हसन ९ रनमा आउट भए भने अर्जुन घर्तीले ७ र प्रतिक पोखरेलले २ रन बनाए।
जनकपुरका बलरमध्ये मोइन अलीले सर्वाधिक ३ विकेट लिए। सैफ हसन र कप्तान हर्मित सिंहले समान २ विकेट हात पारे। ललित राजवंशी र जीमी निशमले १–१ विकेट लिए।
त्यसअघि जनकपुरको ब्याटिङमा ओपनर तृतराज दासले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। तृतराजले अर्का ओपनर मोइन अलीसँग पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। मोइनले २१ रन बनाए।
जनकपुरले पावरप्लेमा बिना विकेटको क्षतिमा ४५ रन जोडेको थियो। तर त्यसपछि मध्यक्रमको ब्याटिङ सुस्ताउँदा टोलीले ठूलो स्कोर बनाउन सकेन। सैफ हसन १, हर्मित सिंह ९, अनिल कुमार शाह ९ र जीमी निशम ११ रनमा आउट भए।
युवा ब्याटर अभिषेक तिवारीले भने आक्रामक ब्याटिङ गर्दै १० बलमा १ चौका र २ छक्काको मद्दतले अविजित २४ रन बनाए। अमर सिंह रौतेला २ रनमा बोल्ड भए।
पोखराका लागि शकिब अल हसनले ३ विकेट लिए। चमिका करुणारत्नेले २ तथा मेहेदी हसन र मोहम्मद सैफउद्दिनले समान १ विकेट लिए।
यस जितसँगै जनकपुरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। यता, पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।
एनपीएलअन्तर्गत सोमबार पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।


तपाईको प्रतिक्रिया !