काठमाडौँ । कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेबीच चौथो विकेटका लागि भएको ७४ रनको महत्त्वपूर्ण साझेदारीको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाए। त्यस्तै, ईशानले ३१ बलमा दुई चौका र दुई छक्कासहित ३७ रनको योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुआत भने राम्रो हुन सकेन। ओपनर विनोद भण्डारी चार र सैफ जैब १५ रनमा आउट भए। ६.३ ओभरमा ५६ रन बनाउँदा तीन विकेट गुमाएको सुदूरपश्चिम दबाबमा थियो। तर, दीपेन्द्र र ईशानले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले अविजित ४० रन बनाए। उनले अन्तिम ओभरमा दुई चौका र एक छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए।
पोखराका बंगलादेशी ओपनर मेहदी हसनले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाए। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे। श्रीलंकाका सदिरा समराविक्रमाले आठ र धनञ्जयले ११ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए।
दीपेन्द्रले जिते चार विधाका पुरस्कार
पोखराविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा प्रभावशाली प्रदर्शन गरेका दीपेन्द्र खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले उक्त पुरस्कारबापत ५० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट क्याचका लागि २५ हजार र ईशानसँगको महत्त्वपूर्ण साझेदारीका लागि थप २५ हजार रुपैयाँ पाए। यसरी उनले कम्तीमा एक लाख रुपैयाँ पुरस्कार जिते।
सकिब अल हसनको एनपिएलमा डेब्यु
विश्वचर्चित बंगलादेशी अलराउन्डर सकिब अल हसनले पनि पोखरा एभेन्जर्सबाट खेल्दै एनपिएलमा डेब्यु गरेका छन्। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा एक चौकासहित १४ रन बनाए। उनलाई सुदूरपश्चिमका अनिल खरेलले आउट गरेका थिए।
बलिङमा सकिबले चार ओभरमा २४ रन खर्चेर ब्रान्डन म्याकमुलेनको विकेट लिए। ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि उनले बलिङबाट विकेट लिँदै आफ्नो उपस्थिति जनाए।
कप्तानको प्रतिक्रिया
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो खेलको तुलनामा ब्याटिङमा सुधार आएका कारण जित सहज भएको बताए। उनले ईशानसँगको साझेदारीले टोलीलाई जितको आधार दिएको उल्लेख गर्दै आगामी खेलमा पनि समर्थकलाई खुसी बनाउने प्रयास गर्ने बताए।
यता पोखराका कप्तान कुशल भुर्तेलले टोलीले प्रतिस्पर्धात्मक लक्ष्य दिएको भए पनि दोस्रो इनिङ्समा शीतको प्रभाव र सुदूरपश्चिमको राम्रो ब्याटिङका कारण पराजित हुनुपरेको बताए। उनले यस संस्करणमा पोखराको लक्ष्य प्लेअफमा पुग्नु रहेको पनि उल्लेख गरे।
दुईपटक एनपिएलको उपविजेता बनेको सुदूरपश्चिमले दोस्रो खेलमा पहिलो जित निकालेको हो। पहिलो खेलमा पराजित भएको पोखराले भने तेस्रो संस्करणको सुरुआत हारबाट गरेको छ। एनपिएलका अघिल्ला संस्करणमा एकपटक पनि प्लेअफमा पुग्न नसकेको पोखराका लागि यसपटकको सुरुआत चुनौतीपूर्ण बनेको छ।


तपाईको प्रतिक्रिया !