वन विनाशले जलवायु परिवर्तन र प्राकृतिक विपद् बढायो : मन्त्री चौधरी

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार ०९:०९ बजे

मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले वन विनाश तीव्र रूपमा बढ्दै जाँदा जलवायु परिवर्तन र ठूला प्राकृतिक विपद्का घटना बढिरहेको बताएका छन्। उनले वातावरण संरक्षणका लागि प्रत्येक व्यक्तिले कम्तीमा ११ वटा बिरुवा रोप्नुपर्नेमा जोड दिँदै वन संरक्षणमा सबै उपभोक्ता सक्रिय हुनुपर्ने बताएका हुन्।

बिन्दवासिनी कोइलाभार बडनिहार साझेदारी वन उपभोक्ता समूहको तेस्रो साधारणसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री चौधरीले विगतमा वन कर्मचारीको सक्रियताका कारण वन संरक्षण प्रभावकारी हुने गरेको स्मरण गरे।

उनले पहिले वन कार्यालयका एक जना घटवार वा फरेस्टरले समेत वनको संरक्षण गर्ने गरेको उल्लेख गर्दै वन कर्मचारीको डरले मानिसहरू वनमा प्रवेश गर्नसमेत हिचकिचाउने अवस्था रहेको बताए। तर, अहिले वन विनाश बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले साझेदारी वन सेवामुखी संस्था भएकाले सबै पक्ष मिलेर वन संरक्षणमा लाग्नुपर्ने बताए।

वन कर्मचारी वा प्रहरीले मात्रै वन जोगाउन नसक्ने उल्लेख गर्दै मन्त्री पटेलले उपभोक्ता, स्थानीय समुदाय र सम्बन्धित निकायको सामूहिक प्रयासबाट मात्रै वन संरक्षण सम्भव हुने धारणा राखे।

वन विनाशका कारण पानीका मुहान सुक्न थालेको बताउँदै उनले समयमै वन संरक्षणमा ध्यान नदिए भविष्यमा गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिए।

समूहका अध्यक्ष रिजवानुल हकको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन मन्त्री चौधरी र मन्त्री पटेलले बिरुवामा पानी हालेर गरेका थिए।

साधारणसभामा साझेदारी वनका संस्थापक रामरूप कुर्मी, मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयका निर्देशक सुवासचन्द्र दास, मन्त्रालयका सचिव राजीवकुमार झा, डिभिजन वन कार्यालय रौतहटका प्रमुख मन्जुर अहमद, पर्सागढी नगरपालिकाका पूर्वउपप्रमुख अर्चना चौधरी तथा गढीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सोहरुम राउत गद्दीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्तप्रसाद साहले स्वागत मन्तव्य राखेका थिए भने पत्रकार शिवनाथ यादवले कार्यक्रमको सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्