चीनसँगका नाका बन्द हुँदा पनि आयात–निर्यात बढ्यो, तीन महिनामै ५ खर्ब ३२ अर्ब व्यापार घाटा

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार ०९:५९ बजे

काठमाडौं । चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बाढीपहिरोका कारण बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

विभागका अनुसार उक्त अवधिमा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो। गत वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो।

चालु आवको पहिलो तीन महिनामा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएकामा यस वर्ष निर्यात ५७.०३ प्रतिशतले वृद्धि भएको हो।

असोजमा सबैभन्दा बढी आयात

भन्सार विभागको तथ्यांकअनुसार साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २ खर्ब १४ अर्ब ७ करोड रुपैयाँ र असोजमा २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँको वस्तु आयात भएको छ।

दसैँका कारण बजारमा माग बढ्दा असोजमा आयात उच्च भएको विभागले जनाएको छ। रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछि विभिन्न नदीमा आएको बाढीपहिरोले उत्तरी क्षेत्रको सडक आवागमन प्रभावित बनाएको थियो। काठमाडौं भित्रिने मुख्य राजमार्गमा समेत अवरोध हुँदा चीनसँगको व्यापार प्रभावित भए पनि समग्र आयातमा भने वृद्धि देखिएको छ।

आयातमा इन्धन र वनस्पति तेलको वर्चस्व

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी मूल्यको आयात हुने वस्तुमा कच्चा भटमास तेल पहिलो स्थानमा रहेको छ। यस अवधिमा अर्जेन्टिना, चीन र ब्राजिलबाट ५० अर्ब रुपैयाँभन्दा बढीको कच्चा भटमास तेल आयात भएको छ।

यसैगरी ४७ अर्ब ३१ करोड रुपैयाँको डिजेल, २४ अर्ब ६२ करोड रुपैयाँको पेट्रोल र २३ अर्ब १८ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ। तीन महिनामा इन्धन आयातमा मात्रै करिब १ खर्ब १९ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ।

त्यस्तै, सवारीसाधन तथा पार्टपुर्जा आयातमा ५३ अर्ब १९ करोड, मेसिन तथा मेकानिकल पार्टपुर्जामा ४२ अर्ब ११ करोड, विद्युतीय उपकरणमा ४० अर्ब ८४ करोड र फलाम तथा स्टिल आयातमा ३९ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ।

निर्यात बढे पनि व्यापार घाटा कायमै

निर्याततर्फ वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। त्यसपछि धागो, चिया–कफी तथा मसला, कार्पेट, जुटजन्य वस्तु र अलैँची प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।

आयातको तुलनामा निर्यात कम हुँदा नेपालको व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी पुगेको छ। निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको उच्च आकारका कारण व्यापार असन्तुलन कायमै रहेको हो।

भारतसँग सबैभन्दा ठूलो व्यापार घाटा

चालु आवको पहिलो तीन महिनामा भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। भारतबाट ३ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट ९५ अर्ब ५९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। यससँगै भारतसँग नेपालको व्यापार घाटा २ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

चीन दोस्रो ठूलो व्यापार साझेदार बनेको छ। तर चीनतर्फ नेपालको निर्यात ६७ करोड रुपैयाँ बराबर मात्रै रहेको छ। अर्जेन्टिनाबाट ३५ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने साउदी अरब, ब्राजिल र अमेरिकाबाट पनि उल्लेख्य परिमाणमा वस्तु नेपाल भित्रिएको छ।

नेपालबाट अमेरिकातर्फ भने ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

समग्रमा, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात र निर्यात दुवै बढे पनि बढ्दो व्यापार घाटाले नेपालको अर्थतन्त्रमा आयात निर्भरता र निर्यात विस्तारको चुनौती कायमै रहेको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्