रौतहट, १२ कात्तिक। अवैध घरेलु मदिराको उत्पादन तथा कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत पर्सा प्रहरीले २ हजार ९५ लिटर घरेलु मदिरा बरामद गरेको छ। प्रहरीले बुधबार जिल्लाका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा अवैध घरेलु मदिरा फेला पारेका हुन्। बरामद मदिरालाई कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा ल्याइएको र नष्ट गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार अवैध घरेलु मदिराको उत्पादन, बिक्री–वितरण तथा ओसारपसार कानुनविपरीत हुनुका साथै जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण छ।
मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने घरेलु मदिराको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यसको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनले बताए।
प्रहरीले लुकिछिपी घरेलु मदिरा उत्पादन गर्ने, बिक्री गर्ने तथा ओसारपसार गर्ने गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराएको छ। त्यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।
अवैध मदिराको कारोबार नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन तथा नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र कारबाहीलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया !