सिमरा । बाराको वन क्षेत्रमा अवैध रूपमा रुख कटान गरी काठ ओसारपसार गर्न खोजिएको अवस्थामा वन गस्ती टोलीले काठ लोड गरिएको भ्यान नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा एक चालक पक्राउ परेका छन् भने मोटरसाइकलमा सवार अन्य दुई जना फरार भएका छन्।
मधुबन सबडिभिजन वन कार्यालयको गस्ती टोलीले नियमित अनुगमनका क्रममा राति करिब १२ बजे काठ लोड गरिएको भ्यान नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार नियन्त्रणमा लिइएको भ्यानमा बा १ च ८९११ नम्बरको प्लेट राखिएको थियो।
मधुबन सबडिभिजन वन कार्यालयका रेञ्जर उदय पुडासैनीका अनुसार भ्यानबाट सिसौ जातका आठवटा गोलिया बरामद भएका छन्। प्रारम्भिक विवरणअनुसार उक्त काठ तीनवटा रुख काटेर तयार पारिएको हो। बरामद काठको परिमाण ८६ दशमलव ७ क्युफिट रहेको वन कार्यालयले जनाएको छ।
घटनामा रौतहटको कटहरिया नगरपालिका–१२ निवासी २९ वर्षीय जलन्धर महत्तो पक्राउ परेका छन्। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय बारामा राखिएको छ। काठ ओसारपसारमा संलग्न रहेको आशंका गरिएका मोटरसाइकलमा सवार दुई जना भने फरार भएका छन्।
वन कार्यालयको प्रारम्भिक अनुसन्धानका क्रममा काठ ओसार्न प्रयोग गरिएको भ्यानमा वास्तविक नम्बरभन्दा फरक नम्बर प्लेट राखिएको खुलेको छ। गाडीको वास्तविक नम्बर ना १ च ८९११ भए पनि बा १ च ८९११ नम्बरको प्लेट प्रयोग गरिएको पाइएको कार्यालयले जनाएको छ। फरक नम्बर प्लेट प्रयोग गर्नुको कारणबारे अनुसन्धान भइरहेको छ।
बरामद काठ र भ्यानलाई डिभिजन वन कार्यालय बाराको परिसरमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान, काठ कटान गरिएको वन क्षेत्र तथा गाडीमा फरक नम्बर प्लेट प्रयोग गरिएको विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत झाले जानकारी दिएका छन्।
वन क्षेत्रमा अनुमति बिना रुख कटान गर्नु र काठ ओसारपसार गर्नु कानुनविपरीत कार्य हो। पक्राउ परेका चालक, फरार व्यक्तिहरूको संलग्नता तथा बरामद काठको स्रोतबारे अनुसन्धान पूरा भएपछि घटनाको थप विवरण खुल्ने वन कार्यालयले जनाएको छ।


तपाईको प्रतिक्रिया !