बजार अनुगमनको डरले पसल बन्द नगर्न आन्तरिक राजश्व कार्यालय सिमराको आग्रह

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १०:२४ बजे

सिमरा, १२ कात्तिक। बजार अनुगमनको सूचना पाउनेबित्तिकै पसल बन्द गर्ने प्रवृत्ति अन्त्य गर्न आन्तरिक राजश्व कार्यालय सिमराले व्यवसायीलाई कर प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ। कार्यालयका नवनियुक्त प्रमुख उपसचिव विकासकुमार रजकले व्यवसायीलाई त्रसित बनाउनेभन्दा करसम्बन्धी समस्या समाधान गर्दै कानुनी दायरामा ल्याउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्।

बारा र रौतहटलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको कार्यालयले व्यापारी तथा व्यवसायीलाई फर्म दर्ता, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य करसम्बन्धी व्यवस्थाबारे जानकारी गराउने तयारी गरेको छ। विगतमा प्रशासनिक झन्झट तथा विभिन्न समस्याका कारण करको दायरामा आउन नसकेका व्यवसायीलाई सहज वातावरण उपलब्ध गराइने प्रमुख रजकले बताएका छन्।

‘अनुगमनका बेला पसल बन्द गरेर भाग्नुभन्दा कानुनअनुसार व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ,’ रजकले नेपाल परिवेशसँगको कुराकानीमा भने।

उनका अनुसार बजार अनुगमनका क्रममा पसल बन्द गर्ने प्रवृत्ति देखिए पनि व्यवसायीलाई सुधारको अवसर दिन कार्यालयले प्राथमिकता दिनेछ। कानुनअनुसार आवश्यक कारबाही गर्न सकिने भए पनि तत्काल सिलबन्दी गर्नुभन्दा व्यवसायीलाई कर प्रणालीमा आबद्ध हुने अवसर उपलब्ध गराउन खोजिएको उनले स्पष्ट पारे।

तिहारअघि बजारमै पुगेर कर शिक्षा दिइने

व्यवसायीलाई करसम्बन्धी ज्ञान, प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराउन कार्यालयले कर शिक्षा अभियान सञ्चालन गर्ने भएको छ। तिहारअघि नै बारा र रौतहटका प्रमुख बजारमा पुगेर व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्ने योजना रहेको रजकले जानकारी दिए।

करसम्बन्धी जिज्ञासा तथा समस्या भएका व्यवसायीले कार्यालयको वेबसाइटबाट जानकारी लिन सक्नेछन्। त्यस्तै, कार्यालयका सूचना अधिकारी रवि श्रेष्ठलाई ९८५५०२५८७४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

गौर भन्सारमा लक्ष्यभन्दा ४१.४१ प्रतिशत बढी राजश्व

आन्तरिक राजश्व कार्यालय सिमराको प्रमुख हुनुअघि जिल्ला भन्सार कार्यालय गौरको प्रमुख रहेका रजकले आर्थिक वर्ष २०८२/०८३ मा वार्षिक लक्ष्यभन्दा ४१.४१ प्रतिशत बढी राजश्व संकलन भएको कार्यकालको अनुभव बटुलेका छन्।

उनको कार्यकालमा भन्सार परिसरमा लामो समयदेखि थन्किएका पुराना तथा नयाँ सवारीसाधन र विभिन्न मालवस्तुको लिलाम प्रक्रिया अघि बढाउने कामसमेत भएको थियो।

मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार सरुवा भएका रजक असोज २९ गते गौर भन्सार कार्यालयबाट बिदा भएका थिए। त्यसपछि कात्तिक ९ गते सोमबार आन्तरिक राजश्व कार्यालय सिमरामा हाजिर भई उनले नयाँ जिम्मेवारी सम्हालेका हुन्।

करको दायरा विस्तारसँगै व्यवसायीमैत्री सेवा चुनौती

रजकको नेतृत्वमा बारा र रौतहटका व्यवसायीलाई कर प्रणालीमा आबद्ध गराउने, करसम्बन्धी अन्योल हटाउने र राजश्व प्रशासनलाई व्यवसायीमैत्री बनाउने चुनौती रहेको छ।

व्यवसायीलाई करसम्बन्धी प्रक्रिया सहज बनाउँदै कानुनी दायरामा ल्याउन सके कर अनुपालनमा सुधार हुनुका साथै राजश्व संकलनसमेत बढ्ने अपेक्षा गरिएको छ। यसका लागि कर शिक्षा, प्रभावकारी सेवा प्रवाह र नियमित अनुगमनलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्