राजविराज । तिहार र छठपर्व नजिकिँदै जाँदा तराई–मधेशका बजारमा माटो र बाँसबाट बनेका परम्परागत सामग्रीको माग बढेको छ। चाडपर्वमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि यस्ता सामग्री आवश्यक पर्ने भएकाले बजारमा बिक्रीसमेत बढेको स्थानीय व्यापारीले बताएका छन्।
तिहारमा प्रयोग गरिने माटाका दियो, कलश, घैँलालगायत सामग्री तथा छठपर्वमा आवश्यक पर्ने बाँसका कोनिया, ढाकी र नाङ्लो खरिद गर्न उपभोक्ता बजार पुग्न थालेका छन्। दशैँपछि यस्ता सामग्रीको माग बढ्दै गएको छ। चाडपर्वको मौसमले माटाका भाँडाकुँडा बनाउने कुमाल समुदाय र बाँसका सामग्री उत्पादन गर्ने मरिक (डोम) समुदायको परम्परागत पेसालाई समेत चलायमान बनाएको छ।
स्थानीय व्यापारी बुचनीदेवी साहका अनुसार सामान्य समयमा दैनिक करिब एक हजार रुपैयाँको कारोबार हुने गरेकोमा दशैँदेखि तिहारसम्म आइपुग्दा व्यापार दोब्बर हुने गरेको छ। उनले बाँसका सामग्री बिक्री गर्न थालेको एक दशक भइसकेको बताइन्।
“बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो। अन्य समयमा ठिकठिकै व्यापार भए पनि दशैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ,” साहले भनिन्।
उनका अनुसार सामान्य दिनमा माटो र बाँसका सामग्रीको माग सीमित हुने गरेको छ। विवाह, व्रतबन्ध, मृत्यु संस्कार तथा घरायसी पूजाआजामा आवश्यकताअनुसार यस्ता सामग्री खरिद गरिए पनि चाडपर्वका बेला भने बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको छ।
नगराइन नगरपालिका–२ की ममता देवी झाले तिहार र छठपर्व मधेशका समुदायमा विशेष महत्त्वका साथ मनाइने भएकाले माटो र बाँसबाट बनेका सामग्रीको प्रयोग अनिवार्यजस्तै रहेको बताइन्।
“मधेशका हरेक चाडपर्व तथा पूजामा माटाका भाँडा र बाँसका सामग्री नभई हुँदैन। त्यसैले यो सिजनमा यस्ता सामग्रीको कारोबार बढ्ने गरेको छ,” झाले भनिन्।
तिहारमा घरघरमा माटाका दियो बाल्ने, कलश स्थापना गर्ने र पूजाका लागि विभिन्न भाँडाकुँडा प्रयोग गर्ने परम्परा छ। त्यस्तै, छठपर्वमा सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न बाँसका कोनिया, ढाकी र नाङ्लो प्रयोग गरिन्छ। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएका यी सामग्रीको माग पर्व नजिकिँदै जाँदा बढ्ने गरेको छ।
परम्परागत पेसाबाट स्थानीय समुदायको आम्दानी
माटो र बाँसबाट बनेका सामग्रीको बढ्दो कारोबारले स्थानीय सीप, श्रम र उत्पादनलाई प्रोत्साहन गरेको छ। जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले माटाका भाँडाकुँडा उत्पादन गर्दै आएका छन् भने मरिक (डोम) समुदायका मानिस बाँसका सामग्री निर्माण तथा बिक्रीमा संलग्न छन्।
स्थानीय बजारमै उत्पादन बिक्री हुन थालेपछि परम्परागत पेसामा आबद्ध समुदायको आम्दानी बढाउन सहयोग पुगेको छ। चाडपर्वका बेला बढ्ने मागले स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै उपभोक्तालाई पनि सहज रूपमा सामग्री उपलब्ध गराएको छ।
राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले स्थानीयस्तरमा उत्पादित माटो र बाँसका सामग्री जिल्लाभित्रै खरिदबिक्री हुनु सकारात्मक पक्ष भएको बताइन्। स्थानीय उत्पादनले बजार पाउँदा परम्परागत सीपको संरक्षण हुनुका साथै आर्थिक गतिविधि पनि स्थानीयस्तरमै चलायमान हुने उनको भनाइ छ।
उनका अनुसार स्थानीय कुमाल र मरिक समुदायले उत्पादन गरेका सामग्री जिल्लाका विभिन्न बजारमा उपलब्ध हुन थालेपछि उपभोक्ताले खरिदका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था कम भएको छ।
तिहार र छठपर्वमा बढ्ने व्यापारले स्थानीय उत्पादक तथा व्यापारीको जीविकोपार्जनमा योगदान पुर्याउनुका साथै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन मद्दत गरेको छ। आधुनिक सामग्रीको प्रयोग बढिरहेको अवस्थामा पनि माटो र बाँसबाट बनेका परम्परागत सामग्रीप्रतिको माग कायम रहनुले स्थानीय सीप र संस्कृतिको महत्त्वलाई उजागर गरेको छ।


तपाईको प्रतिक्रिया !