दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुमे २० हजारभन्दा बढी पर्यटक, डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १०:०६ बजे

चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा २० हजार ८७ जना पर्यटकले भ्रमण गरेका छन्। गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको हो।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार दसैँको अवधिमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी र ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

पर्यटकको भ्रमणबाट निकुञ्जले एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। नेपाली पर्यटकबाट १७ लाख ८३ हजार ६५० रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट आठ लाख ३१ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकबाट एक करोड ४७ लाख ३० हजार रुपैयाँ राजस्व प्राप्त भएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि पर्यटक आउने गरेका छन्। विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। यसपटक सफारीका क्रममा दुर्लभ पाटेबाघसमेत देखिएपछि पर्यटकको आकर्षण थप बढेको छ।

वर्षायाममा निकुञ्जभित्र जिप सफारी बन्द रहने भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी सञ्चालन हुँदै आएका छन्। वर्षा सकिएसँगै निकुञ्जभित्र जिप सफारी पुनः सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो।

निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालन हुने गरेका छन्। ती जिपमार्फत पर्यटकले निकुञ्जभित्रका वन्यजन्तु तथा प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने गरेका छन्।

दसैँको अवधिमा भएको उल्लेख्य पर्यटक आगमनले चितवन राष्ट्रिय निकुञ्जको पर्यटन गतिविधि चलायमान बनेको छ। यसबाट निकुञ्जको राजस्व सङ्कलनसँगै आसपासका पर्यटन व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्