काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार नवनिर्वाचित सभापति गगनकुमार थापाबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिनेछन्। सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सञ्चालन हुनेछ। कार्यक्रममा नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशन अन्तर्गतको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक साताभित्र सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। कुल २२९ पदका लागि भएको निर्वाचनमा झण्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।
महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा विभिन्न समूहको प्रतिनिधित्व रहने गरी पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्।
शपथग्रहण र पदबहालीपछि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय हुने जनाइएको छ।
त्यसैगरी बैठकमा पार्टीका आगामी गतिविधि तथा जिल्ला र प्रदेश अधिवेशनका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेसँगै कांग्रेसको संगठनात्मक गतिविधि, आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !