पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भित्र्याइएका करिब सात लाख रुपैयाँ बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति र समयमा विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त पटाका तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका सामग्रीको अनुमानित मूल्य सात लाख रुपैयाँ रहेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनी पानीसहित पुरेर सञ्चारकर्मीको उपस्थितिमा ती सामग्री नष्ट गरिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार चाडपर्वका समयमा अवैध रूपमा पटाका तथा विस्फोटक पदार्थ भित्र्याउने, भण्डारण गर्ने र बिक्री वितरण गर्ने गतिविधि रोक्न निगरानी तथा चेकजाँचलाई तीव्र पारिएको छ।
अवैध पटाका तथा विस्फोटक पदार्थको प्रयोगबाट हुन सक्ने दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न प्रहरीले नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ।


तपाईको प्रतिक्रिया !