पर्सा । पर्साको धोबीनी गाउँपालिकामा शिक्षा शाखाको आयोजनामा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) सम्बन्धी पाँचदिने तालिम तथा शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ ।
शिक्षकहरूको पेशागत क्षमता विकास, शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
देवेन्द्रप्रसाद कुर्मीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख जितेन्द्रप्रसाद चौहान, गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रशिक्षकका रूपमा प्रभुप्रसाद रौनियार, जगमोहनप्रसाद रौनियार र गोविन्दकुमार पटेल तथा सहयोगीका रूपमा निरज पटेलको उपस्थिति रहेको थियो ।
तालिममा विद्यालयमा प्रयोग हुँदै आएको IEMIS प्रणाली, शैक्षिक तथ्याङ्क व्यवस्थापन, विद्यार्थीको विवरण प्रविष्टि तथा अद्यावधिक गर्ने प्रक्रियाबारे प्रशिक्षण दिइनेछ । साथै, शिक्षकहरूको पेशागत क्षमता विकास, शिक्षण विधिमा सुधार तथा प्रविधिमैत्री शिक्षण प्रणालीको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा समेत प्रशिक्षण केन्द्रित रहने आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत शिक्षकहरूलाई आधुनिक प्रविधिसँग जोड्दै विद्यालयको शैक्षिक तथ्याङ्कलाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । IEMIS प्रणालीको सही प्रयोगले विद्यालयको शैक्षिक योजना निर्माण, विद्यार्थी विवरण व्यवस्थापन तथा शैक्षिक गतिविधिको अनुगमनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षकहरूको क्षमता विकास र सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै आयोजकले तालिमलाई व्यावहारिक र उपलब्धिमूलक बनाउने जनाएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिमले धोबीनी गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक व्यवस्थापन सुधार गर्नुका साथै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया !