ई–जीपी प्रणाली ह्याक गरी ठेक्काको विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार १८:३७ बजे

काठमाडौं, १७ कात्तिक । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूले ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको आरोप छ।

ब्युरोले गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा तीन जनाको संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।

त्यसपछि साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीद्वारा कात्तिक १६ गते जारी प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिइएको हो।

सरकारी ठेक्का प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न प्रयोग हुँदै आएको ई–जीपी प्रणालीमै अनधिकृत पहुँच पुर्‍याएर विवरण हेरफेर गरिएको घटनाले सार्वजनिक खरिद प्रणालीको साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्