काठमाडौँ, १७ कात्तिक। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीका लगाउने उत्तम साइत रहेको छ।
समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिँदै साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तमा उक्त समय निर्धारण गरिएको बताउनुभयो। उहाँका अनुसार सर्वसाधारणले मध्याह्नकालमा पनि टीका लगाउन सक्नेछन्। तर राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्नेछ।
यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि धनत्रयोदशी (धनतेरस) पर्वसँगै सुरु हुनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ। त्यस्तै, कात्तिक २२ गते आइतबार नरक स्नान, कुकुर तिहार र साँझ लक्ष्मीपूजा हुनेछ।
औँसी तिथिमा गरिने स्नान तथा दान कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्ने समितिले जनाएको छ। सोही दिन लक्ष्मीपूजा पनि गरिनेछ। यसैगरी गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार मनाइनेछ।
विशेषगरी नेवार समुदायमा प्रचलित आत्म (म्ह) पूजा यस वर्ष कात्तिक २४ गते नै गर्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिले स्पष्ट पारेको छ। नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि सोही दिनदेखि सुरु हुनेछ।
समितिका अनुसार शास्त्रीय विधिअनुसार भाइपूजा तथा नेवारी भाषामा किजापूजा कात्तिक २५ गते बुधबार नै मनाइनेछ। शास्त्रमा उल्लेख गरिएको भ्रातृपूजा शब्दले दाजुभाइ दुवैलाई समेट्ने भएकाले ज्येष्ठताको क्रमअनुसार टीका लगाउनु उपयुक्त हुने समितिको भनाइ छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने तिहारमा यमदीपदान गर्ने परम्परा पनि छ। परिवारका सदस्यको नाम उच्चारण गरी यमदीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।
तिहारमा काग र कुकुरलाई यमदूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने वैदिक परम्परा छ। यसो गर्दा यमलोकको यात्रामा उनीहरूले सहयोग गर्ने धार्मिक विश्वास रहेको छ।


तपाईको प्रतिक्रिया !