काठमाडौं । सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।
मन्त्रिपरिषद बैठकको निर्णय गरेअनुरूप सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ।
राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।