काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।
तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।
त्यसैले जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको आईजीपी सिंहले बताए।
१३ दिनअघि एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै आइपुगेका छैनन् ।
यस घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।