वीरगञ्ज – साउन १५ । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) ले नियमित सीमा गस्तीका क्रममा तस्करीका सामान बरामद गरेको छ। भारतबाट नेपालतर्फ अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा एसएसबीको टोलीले शंका लागेपछि जाँच गर्दा सामानसहित ६ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्राप्त जानकारीअनुसार एसएसबीको गस्ती टोलीले सीमाक्षेत्रमा निगरानी गरिरहेका बेला तस्करीका सामान बोकेर नेपालतर्फ जाँदै गरेका व्यक्तिहरूलाई देखेपछि उनीहरूले भाग्ने प्रयास गरेका थिए। त्यसपछि एसएसबीले उनीहरूलाई नियन्त्रणमा लिई साथमा रहेका सामान बरामद गरेको हो। घटनाबारे तत्काल सूचना सम्बन्धित समवाय (कम्पनी) प्रभारीलाई समेत दिइएको बताइएको छ।
बरामद गरिएको सामानमा ६५० किलोग्राम चिनी (१२ बोरा), ७२ प्याकेट चाउचाउ (४६.८० किलोग्राम), १.५ लिटरका १०५ बोतल माउन्टेन ड्यू/कोक, पालक पनीर चिप्स ४८ प्याकेट, २५० एमएलका रेड बुल ७२ वटा, चीकू चिप्स ४८ प्याकेट, मोमो चिप्स ४८ प्याकेट, पटियाला चिप्स ६० प्याकेट, रिपुराज चामल ५२ किलोग्राम, स्टार चामल २६ किलोग्राम, बेस्ट चोइस रिफाइन्ड तेल १९.५ लिटर तथा कोल्हू ब्रान्डको तोरीको तेल १० लिटर रहेको छ।
एसएसबीका अनुसार पक्राउ पर्नेहरू सबै नेपालका पर्सा जिल्लाका बासिन्दा हुन्। पक्राउ पर्नेमा स्वर्णपुर वडा नं. ५ निवासी रमेश कुमार सापकोटाको छोरा २७ वर्षीय रोमन सापकोटा, श्याम कुमार उप्रेतीको छोरा २३ वर्षीय शिशिर उप्रेती, थुले तामाङको छोरा ५० वर्षीय जारी तामाङ, विजयबस्ती वडा नं. ४ निवासी हीरालाल गोलेको छोरा २३ वर्षीय सञ्जय गोले, इन्द्रबहादुर श्रेष्ठको छोरा ३५ वर्षीय बालबहादुर श्रेष्ठ, र स्वर्णपुर बस्ती वडा नं. ५ निवासी पदमबहादुर स्याङ्देनको छोरा ४५ वर्षीय फुर्बा स्याङ्देन रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद गरिएका सामानहरू भारतबाट नेपालमा अवैध रूपमा भित्र्याई बिक्री वितरण गर्ने उद्देश्यले ल्याइँदै थियो। पक्राउ परेका व्यक्तिहरू, बरामद सामान तथा घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको भारतीय सुरक्षा स्रोतले जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय दैनिक उपभोग्य वस्तुको अवैध ओसारपसार बढ्दै गएको भन्दै सुरक्षा निकायले सीमा निगरानी थप कडा बनाएको जनाएको छ।