भुटानी शरणार्थी बनाएर ठगी धन्दा : पूर्व गृह सचिव द्वय न्यौपाने र पाण्डेको पनि संलग्नता



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ ठगीमा तत्कालीन गृह मन्त्रालयका सचिव द्वय महेश्वर न्यौपाने र टेक नारायण पाण्डेको पनि संलग्नता रहेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ परेका आरोपीहरु सँग बयान लिने क्रममा पूर्व गृह सचिव द्वय न्यौपाने र पाण्डेको पनि संलग्ता रहेको खुलेको हो ।



आइतबार ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका–२३ घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ सितापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे–१० घर भइ ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशव प्रसाद दुलाल र पाँचथरको फिदिम–७ घर भइ ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो ।



प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा २०७७ सालदेखि योजनाबद्ध ढंगले शरणार्थीका नाममा ठगी हुँदै आएको खुलेको हो । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिलाई प्रयोग गरी आफन्त र नातागोताका व्यक्तिहरू समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनेर भुटानी शरणार्थीको नाम दर्ता गर्नेसम्बन्धी फर्म भर्न लगाइ प्रतिव्यक्ति १५ देखि २० लाख असुल गरी ठगी गर्ने गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका आरोपीहरूसँग प्रहरीले बयानसमेत लिएको छ । बयानका क्रममा उनीहरुले तत्कालीन गृह मन्त्रालयका सचिव पाण्डे र न्यौपानेसँग मिलेमतोमा भुटानी शरणार्थी बनाएर ठगी गरेको बताएका छन् । उनीहरूले पूर्व गृह सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएको स्रोतले बतायो ।

पाण्डे हाल उपराष्ट्रपतिको कार्यालयमा कार्यरत छन् । यस्तै पक्राउ परेकामध्ये दुलाल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका निजी सचिव हुन् । उनी कांग्रेस नेतृ सुजाता परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै गरेको ठगीमा राजनीतिक र उच्च पदस्थ कर्मचारीको मिलेमतो देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दाङ घर भएका सन्देश शर्मा ठगीको मुख्य योजनाकार भएको अनुसन्धानबाट थाहा भएको छ । उनी फरार अवस्थामा रहेका छन् । पीडितहरूले २०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज