सेटिङमा तस्करी मौलायो अख्तियार असन्तुष्ट



काठमाडौं, चैत २९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सम्बन्धित निकायलाई सीमा क्षेत्रमा हुने तस्करी रोक्न निर्देशन दिए पनि तस्करी नरोकिएपछि अख्तियार असन्तुष्ट बनेको छ ।

अख्तियारले केही समयअघि मात्रै अर्थ मन्त्रालयका पदाधिकारी, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभागका महानिर्देशकलगायतका उच्च सरकारी अधिकारीलाई बोलाएर सीमा र भन्सार नाकामा हुने तस्करी रोक्न विशेष निर्देशन दिएको थियो । अख्तियारले त्यसपछि पनि सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर तस्करी रोक्न निर्देशन दिँदै आएको छ । बारम्बार निर्देशन दिँदा पनि सीमा क्षेत्रबाट तस्करी रोकिनुको साटो उल्टै सेटिङमा तस्करी हुने क्रम बढेपछि अख्तियार असन्तुष्ट बनेको हो ।

अख्तियारका एक अधिकारीका अनुसार सीमा क्षेत्रमा तस्करी अत्यधिक बढिरहेको खबरहरू अख्तियारसमक्ष पनि आइरहेका छन् । त्यस्ता खबर आएपछि अख्तियारले फेरि सरोकारवाला निकायलाई बोलाएर ध्यानाकृष्ट गर्ने र आवश्यक जानकारी लिने तयारी गरेको छ । उनले नेपाल समाचारपत्रसँग भने– ‘सिमा क्षेत्रमा तस्करी मौलाएको भन्ने जानकारी आइरहेको छ, यो गम्भीर विषय हो ।’

अख्तियारका ती अधिकारीका अनुसार राजश्व अनुसन्धान विभागका अधिकारी, सबै नाकामा खटिएका शसस्त्र प्रहरी टोली, नेपाल प्रहरी, भन्सार कर्मचारी तथा स्थानीय प्रशासनको मिलिमतो र सेटिङमा नै तस्करी हुने क्रम बढेको सूचना अख्तियारसमक्ष आएको छ । तस्करी बढेकाले पनि राजस्व उठ्ने दर निकै घटेको भन्दै ती अधिकारीले यो विषयलाई अख्तियारले गम्भीरतापूर्वक लिएको बताए ।

स्रोतका अनुसार सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम बढेको छ । कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रौतहट, सर्लाहीलगायतका नाकाबाट तस्करी हुने क्रम बढिरहेको स्रोतको दाबी छ । विशेष गरी सीमा नाकाबाट सेटिङमा करोडौं मूल्यका चिनी, मल, हार्डवेयर सामान र कपडा तस्करी भइरहेको बताइन्छ ।

तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेको छैन । सुरक्षाकर्मीको उपस्थितिसमेत फितलो हुने गरेको पाइएको छ । केही समयअघि सीमा नाकाबाटै १५ सय ट्रक कपडा तस्करी भएको खुलासा भएको थियो । सो तस्करी प्रकरणमा समेत राजस्व अनुसन्धान विभागले गम्भीरतापूर्वक अनुसन्धान गर्न सकेको छैन ।

विभिन्न सामानहरू ठूलो परिमाणमा तस्करी गरी काठमाडौं ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन । तस्करहरूले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामानहरू ओसारपसार गरी सीमाक्षेत्र नजिकैको

गाउँमा थुपार्ने र त्यहीबाट सानोसानो परिमाणमा मालबाहक ट्रकबाट ओसारपसार गर्ने गरेको बताइएको छ । नेपाल समाचारपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज