वीरगञ्ज । पर्साको ईलाका प्रहरी कार्यालय पोखरिया अन्तर्गत रहेको उजुरी शाखामा आर्थिक चलखेल र सेवाग्राहीसँग रकम असुलेको आरोप सार्वजनिक भएपछि सम्बन्धित प्रहरी कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले उजुरी शाखामा कार्यरत प्रहरी हवल्दार जबि उल्लाह मिया ठकुराइमाथि उजुरी दर्ता, छलफल तथा मिलापत्र प्रक्रियामा अनियमितता गरेको आरोप लगाएका छन्। उनीहरूले पीडित तथा आरोपित दुवै पक्षसँग विभिन्न बहानामा रकम माग्ने तथा आर्थिक प्रभावका आधारमा उजुरी प्रक्रियालाई प्रभावित गर्ने गरेको दाबी गरेका छन्।
आरोपअनुसार, कहिले “खाजा–नास्ता खर्च”, त कहिले “मोबाइल रिचार्ज खर्च”को नाममा सेवाग्राहीबाट रकम लिने गरिएको भन्दै स्थानीयले गुनासो गरेका छन्। आर्थिक लेनदेन भएपछि निश्चित पक्षको पक्षमा छलफल गराउने, कसैलाई अनावश्यक रूपमा लामो समयसम्म कार्यालयमै राख्ने तथा उजुरी प्रक्रियालाई प्रभावित पार्ने गरेको आरोपसमेत लगाइएको छ।
स्रोतका अनुसार, सम्बन्धित प्रहरी हवल्दार करिब ११ महिनादेखि उजुरी शाखाको जिम्मेवारीमा रहेका छन्। यस अवधिमा सेवाग्राहीसँगको व्यवहार, आर्थिक चलखेल र कार्यशैलीबारे पटक–पटक गुनासो आए पनि प्रभावकारी छानबिन नभएको स्थानीयको भनाइ छ।
यस घटनापछि प्रहरी संगठनको निष्पक्षता, पारदर्शिता र सेवाप्रवाहमाथि प्रश्न उठेको भन्दै स्थानीय नागरिक तथा सरोकारवालाले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी पुष्टि भए कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।