काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला गएपछि घटना भएको बताएका छन् ।
सोमबार बिहान राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले मन्त्री गएकोले दुखद् घटना भएको बताएका हुन् ।
सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए ।
‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ मन्त्रीको सवारीबारे कुँवरले भने ।
प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए ।