अयोध्याबाट जनकपुरधाम आईपुग्यो जन्ती (बाराती), आज रामको तिलकोत्सव हुने



जनकपुरधाम । सप्ताहव्यापी श्रीसीताराम विवाह महोत्व (विवाहपँचमी) को चौथो दिन आज तिलकोत्सव कार्यक्रम हुने भएको छ ।

भारतको अयोध्याबाट हिँडेको जन्ती (बाराती) तेस्रो दिन महोत्तरी जिल्लाको मटिहानीमा विश्राम गरी मँगलबार नै जनकपुरधाम आईपुगेका हुन् । मंगलबार बिहान पिपरामा भोजन गरी दिउँसो जनकपुरधाम आइपुगेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जनाएका छन् ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरीको विभिन्न पालिकामा स्वागत र विदाइ गरिएको थियो । जानकी मन्दिरको तर्फबाट परिसरमा जन्तीलाई स्वागत गरिएको थियो । उनीहरुलाई साधुसन्त, स्थानीयवासी, नागरिक समाज, विभिन्न संघसंस्था, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसहितका जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित जनकपुरधामवासीले जन्तीको भव्य स्वागत गरे ।

दर्जनौँ गाडीको लावालस्करसहित प्रतीकात्मक श्रीराम, भरत, लक्ष्मण, शत्रुधनसमेत अयोध्याबाट आएका जन्तीहरुलाई भव्य स्वागत गरिएको छ । जनकपुराममा हुने सीताराम विवाहपञ्चमी समारोहमा भाग लिन प्रत्येक पाँचरपाँच वर्षमा अयोध्याबाट जन्ती आउने परम्परा रहेको छ । तत्पश्चात जन्ती रंगभूमि मैदान (बाह«बिघा) को धनुषयज्ञ समारोहमा सहभागी भएका थिए ।

अयोध्याबाट आएको जन्तीको अगुवाई राम मन्दिर ट्रष्टका सचिव चम्पत्त रायले गरेका छन् । जन्तीमा विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजलगायतका अगुवाईमा जन्तीहरु सहभागी भएका छन् ।

त्रेता युगमा भगवान रामले धनुष भंग गरेको संस्मरणमा रंगभूमि मैदानमा सो समारोहको आयोजना गरिएको थियो । धनुष यज्ञ कार्यक्रममा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव पनि साक्षी बनेका थिए । त्रेता युगमा भगवान् रामले धनुष उचालेर तोडेको स्मरणस्वरुप प्रत्येक वर्षझैँ यस वर्ष पनि मंगलबार धनुष यज्ञ कार्यक्रम सम्पन्न भएको छ ।

आज बुधबार तिलकोत्सव हुनेछ । जानकी मन्दिरबाट बाजागाजा र भार सहित तिलक राममन्दिरमा लगिनेछ । त्यहाँ भगवान रामको पिताको भूमिका राम मन्दिरका महन्त राम गिरि र माता सीताको पिताको भूमिका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले निर्वाह गर्नेछन् । बिहीबार मटकोर र शुक्रवार विवाह महोत्सव हुनेछ ।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । विवाह महोत्सवमा सहभागितका लागि नेपाल र भारतको विभिन्न स्थानबाट हजारौँको संख्यामा श्रद्धालुहरु यहाँ आइपुगेका छन् । श्रद्धालुहरुको आवास, शौचालय, पिउने पानीको जनकपुरधाम उपमहानगरपालिकाले समुचित व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज