१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार : जो दसैँमा पनि धर्नामा छ



काठमाडौं । बुधबार दिउँसो एकबजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए ।

दसैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो ।

विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रेम र मनिषालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भयो ।

दसैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुनः निष्पक्ष छानविन होस् ।

दसैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, ‘के दसैँ के चाडवाड हामी त न्याय नपाएसम्म घर नफर्किने भनेर हिँडेका हौँ । न्याय नपाएसम्म घर फर्किने छैनौँ ।’ तर सरकार निर्दयी बनेको उनको गुनासो छ ।

प्रशासनले दसैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए । एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको गएको पत्तै छैन साह परिवारलाई । आरतीकी आमाका आँखा ओभाएका छैनन् । कसैले केही सोध्यो भने केही बोल्दिनन् । आँसु मात्रै झार्छिन् । रोएर पीडा सकिँदो रहेनछ ।

मिति २०८० जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोदप्रसाद साहको मोबाइलमा फोन आयो । त्यो फोन उनकी छोरी आरती साहका ससुरा मदनमोहन साहको थियो । विनोदप्रसाद घरायसी कामले मोबाइल घरमा छोडेर बाहिर गएकाले पटक–पटक फोन बजेको सुनेर विनोदकी कान्छी छोरी मनिषाले त्यो फोन उठाइन् ।

आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए । तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो । २२ वर्षीया आरतीको २२ महिना अघिमात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो ।

विवाहमा मागेको २५ लाख रुपैयाँ दाईजो लिएको साह परिवारले पछि दाईजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ । तर मृतक आरतीका परिवारले भने उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ । दिदीको हत्याराहरु खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरुलाई असहयोग गरेको मनिषाको गुनासो छ । ‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिएपनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो’ मनिषाले भनिन् ।

आफूहरु गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसम्म आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निराश छन् ।

चाँडै सरकारले आफूहरुको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरुले मारेका छैनन् । आरतीको आत्महत्या नभइ हत्या भएको ठहर गर्दै उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज