गण्डकी । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले आज बिहान ११ बजे पार्टी संसदीय दल बैठक बसेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गर्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेका छन् ।
अध्यक्षको निर्देशनअनुसार आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।
माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।