काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार चारवटा प्रदेशमा शुक्रबार वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही मौसम सामान्यतया सफा रहनेछ । आज बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदलीका साथै गण्डकी, बागमती र कोशी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।