धनगढी । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखेको बताएका छन् ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । नेता रावलले आफूलाई घचेटिराखे एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने र नयाँ पाइला चाल्ने बताए ।
त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने रावलको भनाई छ । त्यस्तै रावलले पार्टी उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन् ।
उनले कसैप्रति विवाद र विरोध नगर्ने सहमति हुँदाहुँदै पनि त्यसको विपरीत कार्यकर्ता भड्काउने अभिव्यक्ति दिएको बताए । सोमबार अछामको साँफेमा आयोजित पार्टीको ग्रासरुट कार्यक्रममा उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित थिए ।
सो कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले स्पष्ट पारे । पौडेलले पार्टीको नीति विपरीतका गतिविधि गरेको समेत रावलको दुखेसो थियो।