पाल्पा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको राजनीतिक ‘सिंह’ भएको टिप्पणी गरेका छन् ।
एमाले पाल्पाले मंगलबार तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । उनले १० दलीय सत्तारुढ गठबन्धन स्यालको बथान भएको बताए ।
‘एक्लै लड्छ‚ सिंह एक्लै हिँड्छ। स्यालहरू बथानमा हिँड्छन् । स्यालहरू एक्लै हिँड्यो भने बाघले खाने डर हुन्छ । सिंह जंगल नियाल्दै लमकलमक एक्लै हिंडिरहेको हुन्छ । सिंह आफूलाई कसैले शिकार गर्छ भन्ने पत्यारै गर्दैन‚ बरु शिकार भेटिन्छ कि भनेर हिँडेको हुन्छ। १० दलीय गठबन्धन स्यालहरू हुन्‚ डराइडराइ जंगलमा हिँडिरहेका हुन्छन् । सिंहले एक्लै फेला पारे खाइहाल्छ कि भन्ने डर हुन्छ स्याललाई,’ओलीले भने ।
पछिल्लो समय एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र यस्तो अवस्थामा एमालेले एक्लै लडिरहेको उनको भनाई छ ।