जनकपुर । नेपाली कांग्रेसमा नेताहरूबीच वरीयताको विवाद चर्किएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच निरन्तर वरीयताको विवाद छ । तर पछिल्लो समय पार्टीका सम्मेलनहरूमा वरीयता विवाद चुलिएको छ । बिहीबार मधेश प्रदेशको सम्मेलनबाट नेताहरूबीचको यस्तो विवाद झन् छताछुल्ल भयो ।
बिहीबार जनकपुरमा आयोजित सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि थिए । सम्मेलनमा देउवापछि दोस्रो वरीयता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै गएनन्, मधेश सम्मेलनमा आसनग्रहणका लागि नाम उच्चारण हुँदा नेता कोइराला भने सुनसरीको इनरुवा पुगेका छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि सम्मेलनमा सहभागी छन् । तर सभापति पछिको वरीयता नपाएपछि नेता निधिले आसनग्रहणका लागि भएको बोलाहट स्वीकारेनन्, उनी मञ्च ग्रहण नगरी दर्शक दीर्घामै बसेर सम्मेलनमा सहभागी भए ।
कांग्रेसमा गत महाधिवेशन सम्पन्न भएलगत्तैदेखि वरीयताको विवाद छ । त्यसबेला केन्द्रीय कार्यसमितिबाट सभापति देउवाले वरीयता निर्धारण गरेपनि नेताहरूले त्यसलाई स्वीकारेका छैनन् भने सभापतिमा देउवासँग पराजित नेता कोइराला र निर्वाचित उपसभापति पूर्णबहादुर खड्काले एक–अर्कालाई नेता स्वीकारेका छैनन् । महाधिवेशन यता कोइराला उपस्थित कार्यक्रममा खड्का जाँदैनन्, खड्का जाने कार्यक्रममा कोइराला जाँदैनन् । खड्का र कोइराला पार्टीका बैठकबाहेक एउटै कार्यक्रममा सँगै सहभागी नभएको लामै समय बितेको छ ।
सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भए दुवैले कार्यक्रममै नजाने र बहिष्कार गर्ने गर्दै आएका छन् । बिहीबार मधेश प्रदेश कार्यसमितिले सभापतिपछि वरीयतामा उपसभापति तथा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई निम्त्याएपछि नेता कोइरालाले मधेश सम्मेलन बहिष्कार गरे भने यसअघि देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का सहभागी भएका छैनन् ।
हाल केन्द्रीय कार्यसमितिले बनाएको वरीयताक्रममा सभापति देउवापछि उपसभापति खड्कालाई राखिएको छ । जबकि उक्त वरीयतामा कोइराला २५ औँ नम्बरमा छन् । तर व्यवहारमा भने उपसभापति खड्कालाई कोइरालाले पनि स्वीकारेका छैनन् ।
अर्का उपसभापति धनराज गुरूङसहित अन्य पदाधिकारीले भने कोइरालालाई देउवापछिको वरीयतामा स्वीकारेका छन् ।
मधेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्यको रुपमा मात्रै आमन्त्रण गरेपछि बुधबार उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । ‘लुम्बिनी र गण्डकी प्रदेशमा शेखर दाइलाई वरिष्ठ नेताको रुपमा मानियो । दर्जनौँ जिल्लामा कार्यकर्ताले उहाँलाई वरिष्ठ नेताकोरुपमा सम्मान गरेको अवस्था छ,’ उनीनिकट नेता रविन कोइरालाले भने, ‘हामीले मधेशमा पनि त्यस्तै गर्न भनेका हौँ, तर साथीहरूले मान्नुभएन, हामीले त्यही कुरामा फरक मत राखेका हौँ ।’
महाधिवेशनपछि केन्द्रीय कार्यसमिति नेता कोइराला पक्षले पार्टीको परम्परागत अभ्यास बमोजिम कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको थियो । तर त्यसबेला देउवाले नै अस्वीकार गरे ।
पछिल्लो समय भने सभापति देउवा आफैंले कोइरालाले वरिष्ठ नेताकारुपमा स्वीकार गरिसकेका छन् । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ भने देउवाले पनि नेताका रुपमा सम्बोधन गरेका छन् ।
कांग्रेसमा महाधिवेशनमा सभापतिमा पराजित नेतालाई वरिष्ठ नेता बनाउने अभ्यास थियो । १३ औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि उनीसँग पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता घोषित भए । सुशील कोइराला सभापति हुँदा देउवा नै वरिष्ठ नेता थिए ।
त्यही परम्पराअनुसार १४ औँ महाधिवेशनपछि देउवासँग पराजित शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने कोइरालानिकट नेताहरूको माग थियो । तर त्यसबेला सभापति देउवा र संस्थापन पक्षका नेताहरूले कोइरालालाई वरिष्ठ नेता स्वीकारेका थिएनन् । उपसभापति धनराज गुरूङ र महामन्त्री गगनकुमार थापाले आफ्नो समूहका सभापतिका उम्मेदवार कोइरालालाई वरिष्ठ नेता बनाउन नसकेपछि कसैलाई पनि वरिष्ठ नेता घोषणा गर्न दिएनन् । जबकि वरिष्ठ नेतामा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिको पनि दाबी थियो । त्यसयता सभापति देउवाले नेता कोइरालालाई निरन्तर दबाबमा राखेका थिए ।
पछि आमनिर्वाचनअघि सिट बाँडफाँड गर्ने बेला भने देउवा–कोइराला सम्बन्ध उल्टियो । देउवालाई भेट्न समय माग्दा समेत नपाउने कोइराला पछि देउवाकै निमन्त्रणामा धुम्बाराही पुग्न थाले । संसदीय दलको निर्वाचनपछि देउवा–कोइराला सम्बन्ध झन् प्रगाढ बन्यो । त्यही बेला देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउने आश्वासन समेत दिएका थिए । त्यहीकारण कोइरालाले मन्त्री छनोटमा समेत आफ्नो समूहमा समेत छलफल नगरी एकलौटी निर्णय गरेको आरोप लागेको थियो ।
पार्टीमा पटक–पटक केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति निर्वाचित भएका खड्का कोइरालाभन्दा आफू सिनियर भएको दाबी गर्छन् । जबकि कोइराला भने यसअघि पार्टीको केन्द्रीय सदस्यमात्रै रहेका छन् । उनले केन्द्रीय सदस्यमात्रै रहेर एकैपटक सभापतिमा उम्मेदवारी दिएका थिए ।
उनी १३ औँ महाधिवेशनमा सर्वाधित मतसहित निर्वाचित केन्द्रीय सदस्य हुन् । अर्का नेता निधि पनि पटक–पटक पार्टीको पदाधिकारी रहिसकेका नेता हुन् । त्यसो त कोइराला र खड्काबीचको संघर्षलाई आगामी महाधिवेशनसँग समेत जोडेर हेर्न थालिएको छ । खड्का सभापति देउवापछि त्यही समूहबाट सभापतिको प्रत्यासी बन्ने दाउमा छन् भने अघिल्लो महाधिवेशनमा पराजित भएका कोइराला फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।