जेन-जी आन्दोलनले अहिले देशको राजनीतिलाई तरङ्गित बनाएको छ । यो आन्दोलनलाई मैले परिवर्तनको अपरिहार्य प्रक्रियाका रूपमा लिएको छु । २०४६ सालको जनआन्दोलनपछि पटक–पटक सत्तामा पुगेका पुराना नेतृत्वले विकास, सुशासन र समृद्धिको ठोस परिणाम दिन असफल भएकोमा नयाँ पुस्ताले अब हिसाब मागेको हो । जेन-जी आन्दोलनलाई दबाउने प्रयास गर्दा झन्डै फैलिएको छ । सबै राजनीतिक दल र नेताहरूले यसलाई सकारात्मक रूपमा ग्रहण गरी पुस्तान्तरणको मार्ग प्रशस्त गर्नुपर्छ । अन्यथा यो आगो अझ फैलिनेछ ।
आन्दोलनको दबाबमा सरकारले केही सुधारका सङ्केत देखाएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउने जस्ता निर्णय प्रारम्भिक कदम मात्र हुन् । जेन-जी आन्दोलनका दुई मुख्य माग सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन् । सुशासनका लागि स्वतन्त्र न्यायपालिका, बलियो अख्तियार, राजनीतिक हस्तक्षेपमुक्त अनुसन्धान संयन्त्र र सबै तहमा पारदर्शी नियुक्ति प्रक्रिया आवश्यक छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मोडलमाथि पनि अब गम्भीर राष्ट्रिय बहस हुनै पर्छ । यी माग पूरा नभए आन्दोलन फेरि सशक्त रूपमा उठ्नेछ ।
अब निर्वाचन नजिकिँदै छ । तोकिएकै मितिमा चुनाव हुनै पर्छ । यो देशको स्थिरता र परिवर्तनको प्रश्न हो । मिति सार्ने प्रयास भयो भने जनता फेरि सडकमा उत्रिनेछन् । सबै दलले जेन-जी आन्दोलनको सन्देश बुझेका छन्, त्यसैले निर्वाचन आयोग र सरकार दुवैलाई मिति सार्ने छुट छैन ।
पर्सा क्षेत्र नं. ३ को चुनावी माहौल पूर्ण रूपमा परिवर्तनको पक्षमा छ । यहाँका युवाहरू भन्छन्– अब ७०–८० वर्ष नाघेका, दशकौँदेखि सत्ता–कुर्सीमा बसेका नेतासँग हामीलाई कुनै सरोकार छैन । उनीहरूलाई इमानदार, काम गर्ने अनुहार र नयाँ सोच भएको नेतृत्व चाहिएको छ । स्थानीय युवाहरूले मलाई निरन्तर अगाडि आउन दबाब दिइरहनुभएको छ । पुराना नेताहरू फेरि टिकट लिएर चुनाव लड्ने तयारीमा हुनुहुन्छ, उनीहरूबिच आरोप–प्रत्यारोप पनि चलिरहेको छ । यो देख्दा दुःख लाग्छ र आश्चर्य पनि। जेन-जी आन्दोलनको आगोमा पनि उहाँहरूको घमन्ड पग्लिएन । कसैलाई गाली गरेर वा पैसाको बलमा टिकट लिएर अब जितिन्छ भन्ने ठान्नु दिवास्वप्न मात्र हो । आजका मतदाता सचेत छन्, सामाजिक सञ्जालमा सक्रिय छन् । उनीहरू पुराना अनुहारलाई घर पठाउने निश्चित छ ।
म पर्सा–३ को स्थायी बासिन्दा हुँ, विशेष गरी वीरगञ्ज महानगर र आसपासका गाउँहरूको । दशकौँदेखि यहाँका जनताको सुख–दुःखमा साथ दिएको छु, शिक्षा, स्वास्थ्य, कृषि, युवा समस्या र सीमा क्षेत्रका चुनौती नजिकबाट बुझेको छु । त्यसैले मेरो चुनावी तयारी पूर्ण छ । यदि जनताले अवसर दिनुभयो भने मेरो प्राथमिकता यी क्षेत्रमा केन्द्रित हुनेछ: गाउँ–गाउँका विद्यालय र स्वास्थ्य चौकीमा शिक्षक र स्वास्थ्यकर्मीको अनिवार्य उपस्थिति तथा गुणस्तरीय सेवा सुनिश्चित गर्न कडा अनुगमन प्रणाली ल्याउने, किसानले समयमा मल–बीउ पाउने, सिँचाइ सुविधा पुग्ने, चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरेर तरकारी–फलफूल बिग्रिन नदिने र उत्पादनलाई दिल्ली, कोलकाता हुँदै विदेशसम्म निर्यात गर्ने संयन्त्र बनाउने, हुलाकी राजमार्गको शीघ्र सम्पन्नता, वीरगञ्ज–पथलैया छलेन सडक, ग्रामीण बाटो, खानेपानी, विद्युत् र इन्टरनेट सबै टोलमा पुर्याउने ।
साथै, भारतसँगको खुला सीमाका कारण तराई–मधेसमा लागुऔषधको भयावह सङ्कट छ । ८–१० कक्षाका विद्यार्थीसमेत यसको सिकार बनिरहेका छन् । यसलाई रोक्न सीमा सुरक्षामा कडाइ, विद्यालय–समुदायमा सचेतना अभियान, पुनर्स्थापना केन्द्र र युवा रोजगारीका कार्यक्रममार्फत लागुऔष धमुक्त पर्सा बनाउने अभियान मेरो प्रमुख प्राथमिकतामा पर्छ । मधेस प्रदेशलाई सङ्घीय संरचनामा न्यायोचित अधिकार, बजेट र निर्णय प्रक्रियामा पूर्ण सहभागिता दिलाउन पनि म निरन्तर लडिरहनेछु । संविधान संशोधनको मुद्दालाई फेरि सशक्त बनाउनेछु ।
अन्तमा, म यहाँका हरेक नागरिकको दुःख–सुखमा सधैँ साथमा रहेको आफ्नै दाजु–भाइ जस्तो मान्छे हुँ । पर्सा–३ मा विकासको अपार सम्भावना छ, तर पुरानो नेतृत्वका कारण यो क्षेत्र पछाडि पर्यो । अब यो क्षेत्रलाई शिक्षित, स्वस्थ, समृद्ध र सुरक्षित बनाउने जिम्मा तपाईँहरूको एक मतले सम्भव छ । जेन-जी आन्दोलनले देखाएको बाटोमा हामी सबै हातेमालो गरेर नयाँ नेपाल निर्माण गर्नेछौँ । तोकिएकै मितिको चुनाव परिवर्तनको सुनौलो अवसर हो– यो अवसर गुम्न दिनुहुन्न ।
(रुपेश पाण्डेसँग गरिएको कुराकानीमा आधारित । उनि उद्यमी र व्यवसायी हुनुहुन्छ।)