कालिकामाई गाउँपालिकामा ‘जेन–जी’को नाममा आतंक मच्चाएको आरोप, कुशवाहविरुद्ध कारबाही माग



वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा जेन–जीको नाममा भएको विवादले नयाँ मोड लिएको छ। गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताले केही युवाहरूले कार्यालयमा अनावश्यक हंगामा मच्चाएर कर्मचारी र जनप्रतिनिधिलाई त्रसित बनाएको आरोप लगाएका छन्।

अध्यक्ष गुप्ताका अनुसार गाउँपालिका–२ भेडीयारीका राजनिश कुशवाह समूहसहित बिहीबार दिउँसो चैत १९ गते चलिरहेको बैठकमै प्रवेश गरी होहल्ला गरेका थिए। उनले बैठक अवरुद्ध गर्नुका साथै कर्मचारी र जनप्रतिनिधिमाथि गालीगलौज गर्दै अनावश्यक विवाद सिर्जना गरेको आरोप छ।

“सूचना माग्न विधिसम्मत प्रक्रियामा आउन र बैठकमा बाधा नपुर्‍याउन आग्रह गर्दा पनि उहाँले जबरजस्ती विवाद गर्नुभयो, गालीगलौज गर्नुभयो र कर्मचारीलाई जुत्ताले हान्ने जस्ता अभद्र अभिव्यक्ति दिनुभयो,” अध्यक्ष गुप्ताले बताएका छन्।

घटनापछि कर्मचारीहरूले स्वास्थ्य शाखा प्रमुख धिरज कुमार साहको अध्यक्षतामा बैठक बसेर यस्तो व्यवहारका कारण काम गर्ने वातावरण असुरक्षित बनेको निष्कर्ष निकालेका छन्। उनीहरूले कामकाजसमेत प्रभावित भएको जनाएका छन्।

कर्मचारीहरूका अनुसार कुशवाहले आफूलाई ‘जेन–जी’ बताउँदै पटक–पटक कार्यालयमा पुगेर भिडियो बनाउने, गालीगलौज गर्ने तथा कार्य वातावरण बिगार्ने गतिविधि गर्दै आएका थिए।

यसअघि नै कर्मचारी तथा जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेट गरी शान्ति सुरक्षा सुनिश्चित गर्न र काम गर्ने वातावरण मिलाइदिन माग गरेका थिए।

यता, अध्यक्ष गुप्ताले सामाजिक सञ्जालमार्फत गाउँपालिकामा “कोठाभित्र थुनेर कुटपिट गरिएको” भन्ने आरोपलाई पूर्ण रूपमा असत्य, भ्रामक र नियोजित भएको बताएका छन्। उनले गाउँपालिकाले सधैँ कानुनी प्रक्रिया र विधिअनुसार काम गर्दै आएको उल्लेख गर्दै आधारहीन आरोपले संस्थाको छवि बिगार्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।

अध्यक्ष गुप्ताले घटनाको निष्पक्ष छानबिन गर्न आफू तयार रहेको बताउँदै सम्बन्धित निकायलाई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्। साथै, प्रमाण भए सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन्।

उनले सार्वजनिक गरेको भिडियोमा कुशवाह बैठक कक्षमा १२:१२ बजे प्रवेश गरी १२:१४ बजे बाहिरिएको देखिएको दाबी गरिएको छ, जसमा कुटपिटको अवस्था नदेखिएको अध्यक्षको भनाइ छ।

घटनापछि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सुरक्षा व्यवस्था सुदृढ गर्न र कार्यालय सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेको छ।

यता, कर्मचारीहरूले भने सुरक्षित कार्य वातावरण सुनिश्चित नभए कामकाज ठप्प पार्दै आन्दोलनमा जाने चेतावनी दिएका छन्।

  • गाउँपालिकाले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज