बिरगंज । भन्सारछली तस्करी बढेकाले राजस्व कम हुन गई कर्मचारीलाई तलब खुवाउन समेत धौधौ पर्ने समाचार आइरहेका छन् । बीरगंजबाट सशस्त्र प्रहरीसहित भन्सारका कर्मचारीको मिलेमतोमा तस्करी बढिरहेको छ ।
तस्करीमा ट्रान्सपोर्ट कम्पनीहरुह संलग्न देखिएका छन् । पशुपति ट्रान्सपोर्टबाट तस्करी हुँदैआएकोमा पछिल्लो समयमा पूर्वान्चल ट्रान्सपोर्ट पनि तस्करीमा मुछिएको छ ।
शुक्रबार पनि बीरगंजबाट भन्सारछली गरी सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी आलमुनियम, नरिवल तथा बदाम बोकेको ट्रक वीरगञ्जबाट झापातर्फ गइरहेको छ भन्ने सूचनाका आधारम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार राती वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा स्थित सडकखण्डमा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार ना ६ ख ४७५६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा पूर्वाञ्चल ट्रासपोर्टबाट पठाइएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको थियो । अन्दाजी २९ लाख ६९ हजार ९ सय ३ रुपैयाँ बराबरको आलमुनियम, नरिवल तथा बदाम फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।