बीरगंजमा सेटिङमा तस्करी, सामान बरामदपछि तीन सशस्त्र प्रहरी निलम्बित



वीरगंज । बीरगन्ज भंसार र आसपासका क्षेत्रबाट भैरहेको तस्करी तथा अवैध ओसार पसारका समाचार संचारमाध्यममा सार्वजनिक भएसँगै नेपाल प्रहरीले सो क्षेत्रबाट अवैधरुपमा भित्रिएका सामानहरू धमाधम नियन्त्रणमा लिन थालेको छ । प्रहरीले सामान नियन्त्रणमा लिन थालेपछि सशस्त्र प्रहरीका असईसहित तीन जना कारवाहीमा परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म वीरगंजमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वकिल क्षेत्री, सहायक हवलदार रेशम खत्री र जवान रामबाबु ठाकुरलाई कारवाहीको सिफारिस गरिएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले राजस्व चुहावट नियन्त्रणमा कडाई गर्न दिएको निर्देशनविपरीत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्ममा तैनाथ सशस्त्र प्रहरीको नाकैमुनिबाट तस्करी भई आएका सामान बीरगन्जका भित्री क्षेत्रमा नेपाल प्रहरीले बरामद गर्न थाल्यो । यसरी सामान बरामद हुन थालेपछि सशस्त्र प्रहरीको आतन्तरिक छानबीनबाट ती तिनै जनाको समन्वयमा तस्करी हुने गरेको पाइएपछि निलम्बनसहितको कारबाहीका लागि सिफारिस गरिएको स्रोतबाट थाहा हुन आएको छ ।

यस सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किसन कर्माचार्यसँग बुझ्न खोज्दा उनले तीन जना नभई दुई जनालाई कारबाहीको सिफारिस सहित सशस्त्र प्रहरी बल नेपाल न. मधेश प्रदेश, छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा पठाइएको बताए ।

कारबाहीका लागि पठाइएका सशस्त्र प्रसनिसहितका प्रहरीले गुल्मपतिले अराएको काम नगरेको, चेन अफ कमाण्ड नमानेको, मुखमुखै लागेको र आर्थिक अपचलनमा मुछिएको आरोपमा छानबीनका लागि बाहिनी पठाइएको तर निलम्बित भइनसकेको एसपी कर्माचार्यले बताए ।

यसैबीच कारबाहीका लागि पठाइएका सशस्त्र प्रहरी निकट स्रोतबाट प्राप्त जानकारी अनुसार बीरगंज भन्सार नाका र आसपासका क्षेत्रबाट तस्करी भइरहेको र तस्करी भई आएका सामान नेपाल प्रहरीले धमाधाम नियन्त्रणमा लिएको खबर विभिन्न संचारमाध्यम आउन थालेपछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिमालले आफ्नो पोल खुल्ने डरले यी तीनै जनालाई कारबाही गर्नका लागि लेखेर पठाएका हुन् ।

गुल्मपति डीएसपीको ग्रीन सिग्नल नपाएसम्म मातहतका दर्जाका अन्य प्रहरी कर्मचारीले तस्करलाई सघाउन आँट गर्न नसकिने यथार्थताका बीच डिएसपी रिमालमाथि कारबाही नहुनु तर तल्लो दर्जाका प्रहरी कर्मचारीमाथि कारबाही हुनुले पनि अनेक प्रश्न खडा गरेको छ । साभार : नेपाल फेस डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज