वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२६ मा सीमा विवाद चर्किँदा कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीबिच मङ्गलवार साँझ झडप भएको छ । घटनामा दुवै पक्षका गरी ६ जना नगर प्रहरी घाइते भएका छन् ।
सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक सङ्घीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा विवाद सुरु भएको स्थानीयले बताएका छन् । निर्माणाधीन संरचनाको बिम र रड हटाउने विषयलाई लिएर महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले आपत्ति जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यस क्रममा “यो क्षेत्र हाम्रो सीमाभित्र पर्छ” भन्ने विषयमा दुवै पक्षबिच भनाभन सुरु भई पछि झडपमा परिणत भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार झडपमा लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, महागढीमाई नगरपालिका तर्फका नगर प्रहरी धर्मराज यादव घाइते भएको नगर प्रहरी इन्चार्ज अनिल लहेराले जानकारी दिएका छन् । घाइते यादवको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको उनले बताए ।
सीमा विवाद पुरानै
कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाबिच पर्ने छठिया पोखरी क्षेत्रको सीमा विषय लामो समयदेखि विवादित रहँदै आएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । स्थानीय तह पुनर्संरचना भएपछि केही स्थानको स्पष्ट सीमाङ्कन नहुँदा बेला–बेला विवाद उत्पन्न हुँदै आएको छ ।
स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा सार्वजनिक संरचना निर्माण, सडक स्तरोन्नति तथा खानेपानी जस्ता योजनाहरू सञ्चालन गर्दा अधिकार क्षेत्रको विषयमा दुवै पालिकाबिच असमझदारी देखिँदै आएको छ ।
घटनापछि दुवै पालिकाका जनप्रतिनिधि तथा सुरक्षा निकायबिच छलफलको प्रयास भइरहेको बताइएको छ । स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा रहेको र थप तनाव नबढाउन दुवै पक्षलाई संयतता अपनाउन आग्रह गरेको स्रोतले जनाएको छ ।
सीमाङ्कन सम्बन्धी विषय स्पष्ट पार्न नापी कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्ने तयारी भइरहेको जनाइएको छ ।
घटनापछि छठिया पोखरी आसपासको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था सामान्य बन्दै गएको स्थानीयले बताएका छन् ।