पोखरिया, पर्सा । पर्साको ग्रामीण भेगका नागरिकलाई लक्षित गरी सञ्चालनमा रहेको पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि थाइराइड परीक्षण सेवा बन्द हुँदा सेवाग्राही निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य भएका छन्।
अस्पतालमा थाइराइड परीक्षण गर्ने मेसिन बिग्रिएको महिनौँ बितिसक्दा पनि मर्मत नहुँदा सेवा ठप्प भएको अस्पताल स्रोतले जनाएको छ। सेवा बन्द भएपछि ग्रामीण क्षेत्रबाट अस्पताल पुग्ने बिरामीहरू परीक्षणका लागि निजी क्लिनिक तथा प्रयोगशालामा जानुपर्ने बाध्यतामा छन्।
सेवाग्राहीका अनुसार अस्पतालमै थाइराइड परीक्षण गर्दा करिब ६ सयदेखि साढे ७ सय रुपैयाँसम्म खर्च हुने गरेको थियो। तर निजी क्लिनिकमा परीक्षण गराउँदा १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म तिर्नुपरेको उनीहरूको गुनासो छ। अस्पतालमा परीक्षण गर्दा सामान्यतः एकै दिन रिपोर्ट प्राप्त हुने भए पनि निजी क्लिनिकमा दुई दिनसम्म कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीहरू बताउँछन्।
ग्रामीण क्षेत्रमा थाइराइडका बिरामीको संख्या बढ्दै गए पनि सरकारी अस्पतालमै अत्यावश्यक परीक्षण सेवा नियमित नहुनुले विपन्न तथा न्यून आय भएका नागरिक थप मारमा परेका छन्।
यसैबीच, अस्पतालमा मर्मतसम्भारका लागि लाखौँ रुपैयाँ बजेट आउने गरे पनि बिग्रिएको मेसिन मर्मत नगरी अन्य शीर्षकमा खर्च गरेर रकम हिनामिना गरिएको स्थानीयहरूले आरोप लगाएका छन्।
स्थानीयहरूले अस्पताल प्रशासन तथा सम्बन्धित निकायसँग मेसिन तत्काल मर्मत गरी थाइराइड परीक्षण सेवा नियमित सञ्चालन गर्न माग गरेका छन्।