जनकपुरधाम । भारतबाट अवैध सामान भित्र्याउन ‘लाइन’ दिएबापत तस्करसँग मासिक रकम बुझ्ने गरेको आरोप लागेपछि धनुषास्थित इलाका प्रहरी कार्यालय, खजुरीका इन्चार्ज इन्स्पेक्टर दिनेशबहादुर कुँवरमाथि छानबिन थालिएको छ।
गत साता एक तस्करले इन्स्पेक्टर कुँवरलाई महिनाको ८ हजार रुपैयाँ बुझाउने गरेको दाबी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले छानबिन अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
इन्स्पेक्टर कुँवरमाथि छानबिन भइरहेको पुष्टि गर्दै डीएसपी खनालले भने, ‘खजुरी क्षेत्रका सीमानाकाबाट मोटरसाइकलमा अवैध सामान भित्र्याउन लाइन दिएको र त्यसबापत मासिक ८ हजार रुपैयाँ लिने गरेको दाबीसहितको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा गरिएको दाबी कति सत्य हो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको छ।’
इन्स्पेक्टर कुँवरले अन्य व्यापारी तथा तस्करहरूसँग हप्ता असुल्ने गरेको स्थानीयको आरोप छ । साभारः नेपाल प्रेस
प्रतिक्रिया!