वीरगञ्ज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत इन्जिनियर गजेन्द्र जैसवालमाथि ठेकेदारहरूको एक समूहले कुटपिट गरेको छ।
बुधबार बेलुकी भारतीय दूतावासको उत्तरतर्फ मुख्य सडकमा रहेको हरि राईको चिया पसल अगाडि जैसवालमाथि ४–५ जनाको समूहले कुटपिट गरेको हो। प्रत्यक्षदर्शीका अनुसार कुटपिटपछि जयसवाल रातो मोटरसाइकलमा चढेर त्यहाँबाट भागेका थिए।
ठेकेदारहरूले जैसवालमाथि कमिसन माग्ने तथा कमिसन नदिए काममा असहयोग गर्ने गरेको आरोप लगाउँदै आएका छन्। कार्यालयमा समेत ठेकेदारहरूलाई दौडाउने र दुःख दिने गरेको आरोप स्रोतले लगाएको छ। यही विषयलाई लिएर विवाद बढ्दै गएपछि कुटपिटको घटना भएको बताइएको छ।
यसअघि पनि जैसवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका व्यक्ति भएको स्रोतको दाबी छ। २०७७ साल साउन ४ गते अख्तियारको टोलीले उनलाई ८० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए। पछि चढावा चढाएर सफाइ लिएको बताइन्छ।
यता, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख माधव देव र इन्जिनियर जयसवालमाथि मधेश प्रदेशमा घुस तथा अनियमिततासम्बन्धी आरोप लाग्दै आएको छ। उनीहरूविरुद्ध ठोरी गाउँपालिकामा योजनाको रकममा गोलमाल तथा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको स्रोतले जनाएको छ। साभारःअंकुशदैनिक


तपाईको प्रतिक्रिया !