आसमान नेपालको नेतृत्वमा रेखा यादव, शिक्षा सुधारमा राज्य गम्भीर बन्नुपर्ने सभामुख यादवको जोड

न्यूज डेस्क
२०८३ आश्विन १३, मंगलवार ०१:५६ बजे

जनकपुरधाम । आसमान नेपालको २५औँ वार्षिक साधारण सभाले रेखा यादवको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत  चयन गरेको छ। साधारण सभा समापन कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामाशिष यादवले विद्यालयमा शिक्षक र आवश्यक पूर्वाधारको अभाव रहँदासम्म मधेशको शिक्षा सुधार हुन नसक्ने भन्दै राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

सभामुख यादवले सामाजिक क्षेत्रमा आसमान नेपालले सरकारभन्दा एक कदम अगाडि रहेर काम गरिरहेको उल्लेख गर्दै विशेषगरी दलित तथा सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्न संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले मधेश प्रदेशका विद्यालयहरू आफैंमा समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै कतिपय विद्यालयमा पर्याप्त शिक्षकसमेत नभएको बताए। “बालबालिकाको घरभन्दा विद्यालय राम्रो नभएसम्म शिक्षाको अवस्था राम्रो हुन सक्दैन,” उनले भने।

स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधिहरूले मठमन्दिर, गेट, नाला र सडक निर्माणमा बजेट खर्च गरे पनि विद्यालय तथा शिक्षाका लागि पर्याप्त बजेट छुट्याउन नसकेको उनको भनाइ थियो। नेताहरूलाई ठूलो रकम खर्च गरेर फूलको माला लगाउनुको सट्टा त्यही रकमबाट कापी–कलम खरिद गरी विद्यार्थीलाई वितरण गरे शिक्षा क्षेत्रमा प्रत्यक्ष सहयोग पुग्ने उनले बताए।

साधारण सभाले उपाध्यक्षमा मनु न्यौपाने, सचिवमा राजकुमार विश्वकर्मा, कोषाध्यक्षमा सुशीला देवी सिंह तथा सदस्यमा महादेव यादव, योगेन्द्रकुमार राम, रामप्रवेश यादव, रेखा कुमारी महतो र शोभा सर्वरियालाई सर्वसम्मत चयन गरेको छ।

रामप्रवेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादव, कार्यक्रम प्रमुख दिनेश्वर शाहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। आइतबारदेखि सुरु भएको सभामा संस्थाका कार्यक्रम तथा परियोजनाको प्रगति, उपलब्धि, चुनौती, सिकाइ र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्