जनकपुरधाम । दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन मधेश प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशका आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा योजनाअन्तर्गत सबैभन्दा बढी धनुषामा १ हजार ५९९ प्रहरी परिचालन हुनेछन् ।
त्यस्तै, पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिनेछ ।
चाडपर्वका क्रममा सुरक्षा व्यवस्थापनका लागि १ हजार १२४ ड्युटी तोकिएको छ। ती ड्युटीमा ५ हजार ४८१ प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुरक्षा योजनाअन्तर्गत १४ जिल्ला रिजर्भ, ९२ क्विक रेस्पोन्स टिम ९क्यूआरटी०, १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ ।
यस्तै, शंकास्पद स्थानमा पिकेटका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ ।
चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा यात्रु र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न प्रदेशका सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया !