मैनाटाँड । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको इनरवा थाना क्षेत्रअन्तर्गत झझरीबाट प्रहरीले २१ किलो ४५० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीको कारबाहीको सुइँको पाएपछि गाँजा कारोबारमा संलग्न व्यक्ति भने घटनास्थलबाट फरार भएका छन्।
इनरवा थानाध्यक्ष सन्तोष कुमार सिंहका अनुसार गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले झझरी क्षेत्रमा कारबाही अघि बढाएको थियो। सो क्रममा तलासी गर्दा २१ किलो ४५० ग्राम गाँजा बरामद भएको हो।
प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिएर फरार व्यक्तिको पहिचान तथा खोजी कार्य अघि बढाएको जनाएको छ। फरार कारोबारीको सम्भावित ठेगानामा प्रहरीले छापामारी गरिरहेको थानाध्यक्ष सिंहले बताए।
उनका अनुसार लागुऔषधको तस्करी तथा कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिनेछ। लागुऔषध कारोबारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने उनले बताए।


तपाईको प्रतिक्रिया !