बीरगंज । बीरगंज महानगरपालिकासहित बारा र पर्साका विभिन्न पालिकालाई समेटेर साझा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। ग्रामीण बस्ती तथा सहायक सडकलाई मुख्य मार्गसँग जोड्दै सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले अन्तरपालिका यातायात सेवा सञ्चालन गर्न लागिएको हो।
बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा हालै सम्पन्न अन्तरपालिका बैठकले योजनालाई अघि बढाउन विशेष अध्ययन तथा समन्वय समिति गठन गरेको छ।
अध्ययन समितिले रुट र सञ्चालन खर्चको खाका तयार गर्ने
बीरगंज महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादवसहित विभिन्न पालिकाका प्रतिनिधि सदस्य रहेका छन्।
समितिले यातायात सेवाका लागि उपयुक्त रुट पहिचान गर्ने, सवारीसाधन व्यवस्थापन गर्ने, सञ्चालनको ढाँचा निर्धारण गर्ने तथा आवश्यक वित्तीय स्रोतबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
त्यसैगरी, सवारी सञ्चालन खर्च, इन्धन व्यवस्थापन, चालक तथा सहायकको पारिश्रमिक, मर्मतसम्भार र पालिकाहरूबीच लागत बाँडफाँटको खाकासमेत तयार गरिनेछ। आगामी दिनमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकालाई पनि योजनामा सहभागी गराउने विषयमा छलफल भएको छ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज यातायातको अपेक्षा
साझा सार्वजनिक यातायात सेवा सञ्चालनमा आएपछि मुख्य सडकको पहुँचभन्दा टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई बजार, अस्पताल, शिक्षण संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।
हाल ग्रामीण क्षेत्रका नागरिकले मुख्य सडकसम्म पुग्न निजी सवारीसाधन खोज्नुपर्ने तथा गन्तव्यमा पुग्न पटकपटक सवारी परिवर्तन गर्नुपर्ने समस्या भोग्दै आएका छन्। प्रस्तावित यातायात सेवाले यस्ता समस्या कम गर्नुका साथै नागरिकको यात्रा सहज र सुलभ बनाउने विश्वास लिइएको छ।
बैठकमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जितपुरसिमरा उप-महानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उप-महानगरपालिकाका प्रमुख विनोद साह र परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको उपस्थिति रहेको थियो।
त्यसैगरी, बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा तथा सूचना अधिकृत किर्तिराज सुवेदीलगायत अधिकारीहरूको पनि सहभागिता रहेको थियो।
अन्तरपालिका सहकार्यमा अघि बढाइएको यस योजनाको अध्ययन प्रतिवेदनका आधारमा साझा सार्वजनिक यातायात सेवाको रुट, सञ्चालन प्रक्रिया र लागत व्यवस्थापनबारे थप निर्णय गरिनेछ।


तपाईको प्रतिक्रिया !