वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले कर्मचारी हटाउने विषयमा नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा)का जनप्रतिनिधिहरूले गरेको विरोधप्रति प्रश्न उठाएका छन्।
अध्यक्ष गुप्ताले आफ्नो फेसबुकमार्फत छ महिनासम्म तलब र नियुक्तिविहीन अवस्थामा सडकमा आन्दोलन गर्न बाध्य कर्मचारीहरूको समस्याप्रति त्यतिबेला मौन बसेका जनप्रतिनिधिहरूले अहिले प्रशासनिक कदमको विरोध गर्नुको औचित्यमाथि प्रश्न गरेका हुन्।
उनले विगतमा कर्मचारी भर्ना नभई कार्यकर्ता भर्ना गरिएको आरोप लगाउनेहरू अहिले कर्मचारीको रोजगारीका पक्षमा उभिएको देख्दा खुसी लागेको उल्लेख गर्दै इमान र सिद्धान्त सधैँ एकनासको हुनुपर्ने बताएका छन्।
नयाँ सरकारले सुशासन, नीति–नियम र कानुनी प्रक्रियाअनुसार प्रशासनिक कदम चाल्दा विरोध हुनु उचित नभएको उल्लेख गर्दै अध्यक्ष गुप्ताले सुशासन र नियम सबैका लागि समान हुनुपर्नेमा जोड दिएका छन्।
राजनीति जनताको सेवा र कर्मचारीका समस्या समाधानका लागि हुनुपर्ने उनको भनाइ छ। आफ्नो सुविधाअनुसार बोल्ने र मौन बस्ने माध्यमका रूपमा राजनीतिलाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले ‘जय छिपहरमाई’ लेखेका छन्।


तपाईको प्रतिक्रिया !