नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

NEWS DESK
२०८३ आश्विन २८, बुधबार ०८:०५ बजे

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

शास्त्रीय मान्यताअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापबाट भक्तजनलाई मुक्ति दिलाउने देवीका रूपमा कुष्माण्डालाई लिइन्छ। शरणमा आएका भक्तका तीनै प्रकारका ताप हरिदिने भएकाले उहाँलाई कुष्माण्डा भनिएको धार्मिक विश्वास छ।

श्री दुर्गा सप्तशती अर्थात् चण्डीको देवी कवचमा कुष्माण्डा देवीको महिमाबारे उल्लेख गरिएको छ। विभिन्न पुराणमा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने वर्णनसमेत पाइन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौको जमरा राख्ने परम्परा छ। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ भने चौथो दिन कुष्माण्डा देवीको आराधना गर्ने शास्त्रीय विधान छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने चलन छ। देवीको श्रद्धापूर्वक पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।

नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी मन्दिरमा भक्तजन पूजा तथा दर्शनका लागि पुग्ने गर्छन्।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रभर विशेष पूजा आराधना गरिन्छ।

नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद र टीका लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्