पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति शल्यक्रिया सेवा बन्द, गर्भवती महिला मारमा

न्यूज डेस्क
२०८३ आश्विन २८, बुधबार ०८:४८ बजे

वीरगञ्ज, २७ असोज। पर्साको पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति सेवाअन्तर्गतको शल्यक्रिया सेवा बन्द हुँदा गर्भवती महिला तथा उनका परिवारले सास्ती खेप्नुपरेको छ। आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्तिको अभावमा सेवा ठप्प भएपछि स्थानीय गर्भवती महिला महँगो शुल्क तिरेर निजी अस्पताल तथा वीरगञ्जका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।

अस्पताल स्रोतका अनुसार दैनिक पाँचदेखि छ जनासम्म गर्भवती महिला प्रसूति सेवा लिन अस्पताल पुग्ने गरेका छन्। तर शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने महिलालाई आवश्यक चिकित्सकको अभावमा सेवा उपलब्ध गराउन नसकिएको स्रोतले जनाएको छ। यसबाट विशेषगरी आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका गर्भवती महिला बढी प्रभावित भएका छन्।

यसअघि पोखरिया अस्पतालमा निक साइमन संस्थाको सहयोगमा स्त्रीरोग तथा प्रसूति सेवासम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको थियो। उक्त कार्यक्रममार्फत गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिँदै आएकोमा अस्पताल १५ शय्याको संस्थाबाट प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सहयोग कार्यक्रम बन्द भएको बताइएको छ।

निक साइमन संस्थाले १५ शय्याको अस्पताललाई लक्षित गरी सहयोग गर्दै आएको र अस्पतालको संरचना परिवर्तन भएपछि उक्त कार्यक्रमलाई निरन्तरता दिन नसकिएको जनाइएको छ। तर सहयोग कार्यक्रम बन्द भएपछि वैकल्पिक व्यवस्था गरी सेवा सञ्चालन गर्न सम्बन्धित निकायले प्रभावकारी पहल नगर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको छ।

पोखरिया क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित अस्पतालमै प्रसूति शल्यक्रिया सेवा लामो समयदेखि बन्द रहनुले स्वास्थ्य सेवाको उपलब्धतामाथि प्रश्न उठाएको छ। सामान्य प्रसूति सेवाका लागि अस्पताल पुग्ने महिलाले जटिल अवस्था आएमा अन्यत्र जानुपर्ने बाध्यता छ। समयमै उपचार तथा आवश्यक शल्यक्रिया सेवा उपलब्ध नहुँदा आमा र नवजात शिशुको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्तासमेत बढेको छ।

स्थानीयवासीले अस्पतालमा आवश्यक स्त्रीरोग विशेषज्ञ, एनेस्थेसिया सेवा तथा अन्य स्वास्थ्य जनशक्तिको व्यवस्था गरी तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न प्रदेश सरकार र पोखरिया नगरपालिकासँग माग गरेका छन्।

गर्भवती महिला तथा नवजात शिशुको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा चार महिनासम्म बन्द रहनु गम्भीर विषय भएको उल्लेख गर्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्। प्रसूति शल्यक्रिया सेवा पुनः सञ्चालन भएमा पोखरिया तथा आसपासका क्षेत्रका नागरिकले आफ्नै ठाउँमा सहज र सुलभ उपचार पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्