धरानमा लागूऔषधका मुद्दा सबैभन्दा बढी, तीन वर्षमा ४०६ मुद्दा दर्ता

NEWS DESK
२०८३ आश्विन २९, बिहीबार १०:१४ बजे

सुनसरी, २९ असोज। प्रहरी र स्थानीयवासीले लागूऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरे पनि धरानमा लागूऔषधको प्रयोग तथा कारोबार चुनौतीका रूपमा देखिएको छ। इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार पछिल्लो तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका छन्।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म विभिन्न कसुरमा एक हजार १७२ मुद्दा दर्ता भएका छन्। तीमध्ये लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कसुरमा ५१७ मुद्दा दर्ता भएका थिए। सो अवधिमा ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म १६१ मुद्दा दर्ता भएका छन्। उक्त अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेको प्रमुख राईले जानकारी दिनुभयो।

लागूऔषधसम्बन्धी मुद्दासँगै अभद्र व्यवहार, बैंकिङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणी लगायतका कसुरमा पनि मुद्दा दर्ता भएका छन्।

प्रमुख राईका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ। उमेर समूहका आधारमा १५ देखि ५५ वर्षसम्मका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ।

लागूऔषध कारोबारीले सवारीसाधनमा लुकाएर, फल्स बटम बनाएर तथा शरीरका विभिन्न भागमा लुकाइछिपाई लागूऔषध ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको प्रमुख राईले बताउनुभयो।

प्रहरीले लागूऔषध नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिँदै आए पनि दर्ता भएका मुद्दाको सङ्ख्याले धरानमा लागूऔषध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्