काठमाडौं । अर्काको नाम र हस्ताक्षर दुरुपयोग गरी झुटो उजुरी दिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।
आयोगका अनुसार आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले आङबाबु राई (एबी राई) को नाम र हस्ताक्षर प्रयोग गरी नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विरुद्ध झुटो उजुरी दिएका थिए।
उजुरीमा डीआईजीले सहकारीको ऋणसम्बन्धी विवाद मिलाइदिने भन्दै ४० लाख रुपैयाँ मागेको, त्यसमध्ये १५ लाख रुपैयाँ नगद लिएको र आफ्नी कान्छी श्रीमतीको नाममा थप चेक लिएर धम्की दिएको आरोप लगाइएको थियो।
आयोगले उक्त उजुरीमाथि अनुसन्धान गर्दा राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको बताएका थिए। अनुसन्धानका क्रममा पुन मगरले समेत आयोगसमक्ष बयान दिँदै राईको नामबाट आफूले नै उजुरी दिएको स्वीकार गरेका थिए।
आयोगका अनुसार अनुसन्धानका क्रममा राई र पुन मगर दुवैले उजुरीमा उल्लेख गरिएअनुसारको घटना नभएको, कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकम नमागिएको बयान दिएका थिए।
राईको नाम र हस्ताक्षर दुरुपयोग गरी उनलाई समेत दुःख तथा हैरानी दिने बदनियतले झुटो उजुरी दिएको पुष्टि भएपछि पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जनाएको छ।


तपाईको प्रतिक्रिया !